77औं स्वाधीनता दिवसको ऐतिहासिक अवसरमा एसडीएफ अध्यक्ष श्री पवन चामलिङद्वारा सिक्किमेली जनगणका निम्ति जारी शुभकामना सन्देश-
“आदरणीय सिक्किमेली जनसमुदाय,
देशको 77औं स्वाधीनता दिवसको उपलक्ष्यमा हार्दिक बधाई र शुभकामना जनाउँदछु।
आजको यस ऐतिहासिक अवसरमा देशको स्वाधीनताका लागि संघर्ष गर्नुहुने, देशको मुक्तिको लागि जीवन अर्पण गर्नुहुने अनि देश र देशवासीका लागि सम्पूर्ण कुराहरू समर्पण गर्नुहुने समस्त शहीद र स्वतन्त्रता-संग्रामी देशभक्तहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
आज हामी स्वतन्त्र छौं। आफ्नो भाग्य र भविष्यको निर्माण गर्ने अधिकार हामी आफैले पाएका छौं। पुर्खाहरूको सर्वोच्च बलिदान र त्यागको कारणले आज हामीले यो अधिकार पाएका छौं। त्यसैले यो स्वतन्त्रता वा आजादीलाई सुरक्षित राख्ने र यसलाई कायम राखिराख्ने जिम्मेवारी हामी सबैको हो। किनभने 26 अप्रेल, 1975 -देखि हामीले पनि यो आजादीलाई उपभोग गर्दै आइरहेका छौं।
देशले आजादी पाएको आज 76 वर्ष पूरा भइसकेको छ। र हामीले पनि देशको अभिन्न अङ्गका रूपमा स्वतन्त्रताको उपभोग गरेको 48 वर्ष भइसकेको छ। तर देशले स्वतन्त्रता पाउँदैमा नागरिकहरूको जीवनमा पनि स्वतन्त्रता आफै-आफ कायम हुनसक्छ भन्ने कुरा पूर्ण सही होइन भन्ने कुरो हाम्रा आफ्नै अनुभवहरूले प्रमाणित गरिदिएको छ। यदि त्यसो हुन्थ्यो भने आज नागरिकहरूले कुनै प्रकारको विभेद, विषमताहरूको सामना गर्नुपर्ने थिएन। तर आजसम्म पनि हामीले राजनैतिक, सामाजिक, आर्थिक असमानता र भेदभावहरूको सामना गरिरहेका छौं, विभिन्न किसिमका अन्याय र अत्याचारहरू सहिरहेका छौं।
आदरणीय सिक्किमेली सह-नागरिकगण,
देशले भोगिरहेका यी जटिल समस्याहरूलाई पहिचान गरेर हामीले सिक्किमेली जनगणका बुनियादी समस्याहरूलाई हल गर्ने इमान्दार प्रयास गरेको कुरा तपाईंहरूलाई विदित नै छ। सिक्किमे नागरिकहरूका आधारभूत आवश्यकताहरूलाई सम्बोधन गरेर एउटा सबल, सक्षम र सम्पन्न समाजको घड़ेरी बसाल्ने र सिक्किमेहरूलाई सबै क्षेत्रहरूमा अग्रणी बनाउने अभियान हामीले आफ्नो सरकारकालमा चलाउँदै ल्याएको कुरो तपाईंहरूलाई थाहै छ। हाम्रो त्यो सचेत र सुनियोजित पहलले सिक्किमेली समाजमा धेरै सकारात्मक परिणामहरू दिएको कुरो म यहाँ स्मरण गराउनचाहन्छु।
हाम्रो देश बहु-भाषिक, बहु-सांस्कृतिक र बहु-जातीय देश हो। विविधतामा एकता नै हाम्रो शक्ति र सौन्दर्य हो। विभिन्न जात-जाति, भाषा र संस्कृतिको मिलनले नै भारत बनेको छ। यो सच्चाइ हो, र यसलाई स्वीकार गरेर मात्र भारत देशको वास्तविक शक्तिलाई चिन्न र बुझ्नसकिन्छ। तर आज पनि यस तथ्यलाई स्वीकार गर्न नसक्नेहरू जातीय अहंकारका कारण साम्प्रदायिकतावादको विष फैलाउने काम गरिरहेका छन्। जातीय घृणा, वैमनष्य, बेमेलता र अविश्वास फैलाएर समाजमा छुवाछुत र विभाजन ल्याइरहेका छन्। त्यसैले आज पनि देश जातिवाद, नस्लवाद र साम्प्रदायिकतावादको आगोमा जलिरहनु परेको छ। यो अवस्थाबाट देशलाई मुक्ति दिने सङ्कल्प आज हामीले गर्नुपरेको छ।
हाम्रो देशको संविधानले नै जातीय र सामाजिक वर्गहरूको पहिचान र स्वीकृति दिएको छ। अगौटे वर्ग, पछौटे वर्ग, सेडुलकास्ट, सेडुलट्राइबजस्ता वर्ग र समूहहरू छन्। देशको संघीय प्रणालीअनुसार सिक्किममा पनि यही प्रणाली प्रचलित छ। हामीले सबै सिक्किमेहरूलाई सबै क्षेत्रहरूमा पहिचान, आरक्षण र सुरक्षा दिएर समान रूपले विकास गर्ने मौका दियौं। कसैलाई छुट्याएनौं, र जात-पात छुट्याउनेहरूका विरुद्ध कड़ा कानूनी नियमहरू बनायौं, र लागू गर्यौं। त्यसैले देशका अन्य प्रान्तहरूका तुलनामा आज सिक्किमको सामाजिक अवस्था बेहतर छ। आज हाम्रो समाज एउटै भत्तेरमा चल्ने समाज बन्नसकेको छ।
लैङ्गिक विभेदको समस्या पनि हाम्रो देशमा छ। पित्तृसत्ताको कारण सधैं अन्याय र दमनमा परेका महिला जातिलाई न्याय र मुक्ति दिने हाम्रो लक्ष्य हो। घर-परिवारदेखि समाज हुँदै सरकारसम्मै पुरुषहरूको हक-डक झेल्नुपर्ने महिला जातिको पराधीनतालाई समाप्त गर्ने आन्दोलन हामीले सिक्किममा चलायौं। आमा-चेलीहरूलाई शैक्षिक, आर्थिक, राजनैतिक, प्रशासनिक अधिकार र क्षमता दिएर उनीहरूलाई ऐतिहासिक न्याय र निसाफ दियौं र सशक्तीकरण गऱ्यौं। अर्को भाषामा भन्नु हो भने सिक्किमेली नारीहरूलाई स्वतन्त्रताको वास्तविक अनुभव गर्नपाउने अवस्था हामीले सिर्जना गऱ्यौं।
आदरणीय महानुभावहरू,
आर्थिक स्वतन्त्रताबिना आजादीको अर्थ पूरा हुनसक्दैन भन्ने हामीले बुझ्नुपर्दछ। जनतालाई आर्थिक रूपमा सम्पन्न र स्वावलम्बी बनाउनु राज्य वा सरकारको मुख्य दायित्व हुनुपर्दछ। यही सिद्धान्तको आधारमा हामीले समाजका सबैभन्दा कमजोर, निमुखा र पछौटिएका जन-समूहलाई सबैभन्दा बढ़ी स्याहार-सम्भार र सहयोग गर्ने नीति अप्नायौं। सिक्किमका गाउँहरूमा 70 प्रतिशत बजेट खर्च गर्ने निर्णय गऱ्यौं। जनतालाई बस्ने, खाने, लाउने अनि औषधी-उपचार गर्ने तथा नानीहरूलाई पढ्ने-पढ़ाउने आदि व्यवस्था गर्ने कुरोलाई हामीले प्राथमिक महत्व दिएर काम गऱ्यौं। गाउँले जनताका आय बढ़ाउने, उनीहरूका जीवनमा सुख-चैन बढ़ाउने, खुशी बढ़ाउने नीतिहरू अप्नायौं। जनताका आफ्ना आयस्रोत, साधन, शक्ति र सीपहरू बढ़ाउने सबै उपायहरू लगायौं।
तर आज जनतालाई फेरि गरीबीको मारमा फँसाइएको छ। सरकार आफैले जनताका आय स्रोतहरू बन्द गरिदिएको छ। गरीब जनताका फाइदाका निम्ति शुरू गरिएका सबै योजना र कार्यक्रमहरू बन्द गरिदिएको छ। हामीले कुना-कुनासम्मका गाउँ-बस्तीहरूसम्म पुऱ्याएका अधिकार र अवसरहरू सरकारले उड़ाइदिएको छ।
सरकारको काम भनेको देश वा राज्यको प्राकृतिक र मानव संसाधनहरूको सदुपयोग गरी राज्यको आर्थिक स्रोत विकास गर्ने, जनताको आर्थिक कल्याण र विकास गर्ने हो। सरकारको दायित्व भनेको देश वा राज्यको राजस्व वृद्धि गरी जनतालाई सबै प्रकारका अवसरहरू सिर्जना गरिदिनु हो। सरकारको काम राज्यमा भएका सम्पत्ति र पूर्वाधारहरू बेचेर राज्यको भविष्य उजाड़ पार्नु होइन। राज्यको सम्पत्तिलाई दुरुपयोग गरी मनपरी गर्नु, आफ्ना परिवार र आसेपासेहरूलाई गाड़ी बाँड्नु र बिल्डिङ खड़ा गर्नु सरकारको काम होइन। जनताको धन उड़ाएर दाता बनेर हिँड्नु पनि सरकारको काम होइन। झन् अघिल्लो सरकारले नै अनुमोदन गरिसकेका विकास योजनाहरूको बजेट बढ़ाउँदै भ्रष्टाचार गर्नु त सरकारको काम हुँदै होइन।
आज सिक्किमका कण्ट्र्याक्ट र सप्लाइका कामहरू सिलगढ़ीका बिजनेस पार्टनरहरूसँग मिलेर उतै भाग-बण्डा लगाइँदैछ। खाँटी सिक्किमे ठेकेदार र व्यापारीहरूलाई यो सरकारले सद्दे बेकारी बनाइसकेको छ। सिक्किमे ठेकेदारहरूको बील अड़्काएर उठिबास लगाइरहेको छ, सिक्किमे ठेकेदारहरूलाई डिप्रेसनमा पुऱ्याउने काम सरकारले गरिरहेको छ।
आजको सिक्किम सरकारले पुराना योजना र पूर्वाधारहरूको रख-रखाउ र स्याहर-सम्भरणसम्म गर्न सकिरहेको छैन।
आज सिक्किममा विकासका कामहरू ठप्प भएका छन्। आज सिक्किममा यसअघि कहिल्यै नसुनिएका ठूल्ठूला स्क्याम र घोटालाहरू भइरहेका छन्।
सिक्किमलाई सैकड़ौं वर्षसम्म पुग्ने गरी हामीले सिर्जना गरिराखेका सिक्किमका श्रीसम्पत्तिहरू आज सरकारले धमाधम बिक्री गरिरहेको छ। हामीले बनाइराखेका पावर प्रोजेक्टहरूमध्ये 7 वटा प्रोजेक्ट यो सरकारले प्राइभेट पार्टीलाई बेचिसकेको छ, पावरका इक्विटी शेयर बेचिसकेको छ। कहाँसम्म भने पावरको रेभेन्यु संकलन गर्ने कामसमेत बाहिरको मान्छेलाई दिएको छ। यो सरकारमा राज्यमा नयाँ उद्योग-धन्धा एउटै खोलिएको छैन, उल्टै कतिपय कम्पनीहरू सिक्किमबाट भागिरहेका छन्।
यसरी आज सिक्किमलाई आर्थिक परतन्त्रतामा जाँकिदै लगिएको छ। यो विकट सङ्कटबाट राज्यलाई बचाउने प्रण आज हामीले गर्नुपर्नेछ।
आज राज्यमा बेकारी समस्याले विकराल रूप धारण गरिसकेको छ। हामीले हाम्रो समयमा बेरोजगारी समस्यालाई घटाएर 2 प्रतिशतभन्दा तल ल्याइसकेका थियौं। तर विगत चार वर्षमा राज्यमा बेरोजगारी दर बढ़ेर 24 प्रतिशत पुगिसकेको छ। बेकारी समस्या बढ़ेकोले युवाहरूमा हताशा बढ़ेको छ, युवाहरू डिप्रेशनको शिकार हुँदैछन्। राज्यमा आत्महत्याको दर बढ़ेर गएको छ।
स्वाधीनता दिवसको यस विशेष क्षणमा हामी सिक्किमेहरूले सिक्किमको अस्तित्व र पहिचानबारे पनि घोत्लिनु र चिन्तन गर्नुपरेको छ। आज सिक्किम गहिरो राजनैतिक सङ्कटमा फँस्दै गएको छ। सिक्किमले पाएका र कमाएका सबै कुराहरू अहिले गुम्दै र हराउँदै गइरहेका छन्। अहिले सिक्किम र सिक्किमेहरूको पहिचानसमेत हराउँदै गएको छ। इतिहासको ज्यादै डरलाग्दो र खतरनाक मोड़मा आज हामी उभिएका छौं। स्वतन्त्रता दिवसको यस पुनीत अवसरमा सिक्किमेहरूले आफ्नो पहिचान र स्वतन्त्रताबारे पनि चिन्तन गर्नुहुन म आह्वान गर्दछु।
इतिहास साक्षी छ, सिक्किमेहरू स्वतन्त्र रूपले र स्वेच्छाले भारतको अङ्ग बनेका हुन्। सिक्किमेहरूले जनमत दिएर भारतमा विलय हुन राजी भएका हुन्। स्वतन्त्र देश र सो देशका देशवासीहरूले भारतमा विलय हुँदा कतिपय राजनैतिक अभिप्रायहरू साँचेका थिए, कतिपय सपना र आकांक्षाहरू राखेका थिए। तिनै आकांक्षा, अभिप्राय र सपनाहरूको शर्तमा सिक्किमलाई भारतमा विलय गराइएको थियो। सिक्किमेहरूको यस शर्तलाई देशले पनि स्वीकार गरेको थियो, र नै देशको संविधानमा संशोधन गरी धारा 371एफ सामेल गरिएको थियो।
संविधानको धारा 371एफ -ले सिक्किम-भारत विलयको इतिहास, त्यसको ऐतिहासिकता र सिक्किमे मनोभावनाको प्रतिविम्बन र प्रतिनिधित्व गरेको छ। त्यसैले धारा 371एफ -लाई किञ्चित मात्रामा पनि तरलीकरण गर्ने प्रयासले सिक्किमेहरूको विश्वास र आस्थामाथि आघात पुऱ्याउने मात्र होइन, तर देशको त्यो ऐतिहासिकतामाथि पनि प्रश्नचिह्न खड़ा गर्नेछ। यो भनेको इतिहाससँग खेलवाड़ गरिनु हो। तर आज सिक्किम र सिक्किमेहरूले पाएको त्यही सुरक्षा कवच - धारा 371एफ -लाई खुल्लमखुल्ला तरलीकरण गर्ने, यस धाराका विशेष प्रावधानहरूलाई नष्ट गर्ने, सिक्किमका पुराना कानूनहरूलाई भङ्ग गर्ने काम भइरहेका छन्।
सिक्किम र सिक्किमेहरूले पाएको विशेष सुरक्षाहरूको सुरक्षा हुनुपर्छ भन्ने हाम्रो मागमा हामी अडिग छौं। सिक्किम र सिक्किमेहरूले पाएको विशेष सुरक्षा र पहिचानको सुरक्षा नगरिए सिक्किमेहरूप्रति ऐतिहासिक अन्याय हुनेछ। यो सिक्किमेहरूले देखाएको देशभक्ति र बलिदानप्रति अपमान हुनेछ। सिक्किमेहरूको पहिचान र विशेष हक-अधिकार हर हालतमा यथावत सुरक्षित रहनुपर्दछ। यो हाम्रो अड़ान हो।
आज सिक्किमेहरूको सहमति र स्वीकृतिबिना विभिन्न कानूनहरू विस्तार गरेर र लागू गरेर, धारा 371एफ -का प्रावधानहरूलाई कमजोर पारेर, सिक्किमका पुराना कानूनहरूलाई समाप्त पारेर, सिक्किमेहरूले पाएका सुरक्षाहरूलाई हटाएर र घटाएर वर्त्तमान सिक्किम सरकारले सिक्किमेहरूको पहिचान र विशेष सुरक्षालाई शेष गर्ने र सिक्किममा सिक्किमेलाई नै अल्पमतमा पार्ने षड़यन्त्रपूर्ण कामहरू गरिरहेको छ। सिक्किमेहरूलाई सिक्किमभित्रै विदेशी, प्रवासी, आप्रवासी बनाउँदै लगिरहेको छ। विशेष सुरक्षा र पहिचानले सुरक्षित गरेको सिक्किममा सिक्किमेहरूलाई नै पहिचानविहीन बनाउँदै लगिरहेको छ। यो क्रूर आक्रमणलाई सबै सिक्किमेले एकजुट बनेर विरोध र प्रतिकार गर्नु जरूरी छ।
आज सम्पूर्ण सिक्किमेली जनगण आफ्नो अधिकार र सुरक्षाको खातिर एक हुनुपरेको छ। हामी सबै मिलेर हाम्रा भावी पीढ़ीको सुरक्षा गर्नुपर्नेछ। मैले बारम्बार भन्दै आएको छु, सिक्किम नै नरहे सिक्किमे रहनेछैन। आज हाम्रो जन्मभूमि सिक्किमलाई बचाउन हामी सबै अघि आउनुपरेको छ। सिक्किमको पहिचानलाई बचाउन हामी सबै एकजुट हुनुपरेको छ।
गत विधानसभा चुनाउमा जनतालाई झुटो वचन दिएर, झुट बोलेर आएको सरकार आज पनि झूठ बोल्न र षड़यन्त्र गर्नमै व्यस्त छ। 2019 -को चुनाउमा ढाँटेका कुराहरू आज पनि जिउँदै छन्, तर पनि सरकार नयाँ-नयाँ झूठहरू बोल्न शरम मानिरहेको छैन। सरकार कृपावाद, नातावाद र भ्रष्टाचारवादमा चलेको छ, प्रशासन नामको कुरो कतै देखिँदैन। सिक्किमबाट आज शान्ति, सुरक्षा र स्थिरता हराएर गएको छ। बिहान घरबाट निस्केको मान्छे बेलुकी सुरक्षित घर फर्कन्छ भन्ने कुरोमा कसैलाई विश्वास र भरोसा छैन। यो सरकारमा दिन-दहा़ड़ै मान्छेको हत्या भइरहेको छ, मानिसहरूले, विपक्षी पार्टीका कार्यकर्ताहरूले कुटाइ खाइरहेका छन्, दिउँसै अस्पतालमा डाक्टरको हत्या भइरहेको छ, विद्यार्थी नेताको हत्या भइरहेको छ, सिक्किमेहरूको हकको सुरक्षाको लागि माग गर्दै शान्तिपूर्ण जुलूस गरिरहेका सामाजिक कार्यकर्ताहरूमाथि प्रशासनकै सामुन्ने छुरा प्रहार भइरहेको छ, न्यायको माग गर्दै अघि बढ़िरहेको शान्ति जुलूसमा सत्तारूढ़ पार्टीका गुण्डातत्त्वहरूद्वारा ढुङ्गा-मूढ़ा र बोतल प्रहार गरेर दमन गरिँदैछ, प्रशासनले उल्टै शान्ति जुलूसमाथि अश्रुग्यास (टियर ग्यास) हानिरहेको छ, 50 जनाभन्दा बढ़ी शान्ति जुलूसकारीहरूविरुद्ध वारण्ट जारी गर्छ, छोरी-चेलीको बलात्कार र हत्या भइरहेको छ। सिक्किममा यो चार वर्षको सरकारमा जताततै अज्ञात शवहरू, नरकङ्कालहरू भेटिँदैछ, तर प्रशासन कानमा तेल हालेर बसेको छ, जनताले प्रशासनलाई गुहार माग्दै गरेका एफआईआरहरू लिन मानिरहेको छैन। विद्यार्थीहरूले सरकारसमक्ष न्यायपूर्ण मागहरू राख्दा आतङ्कवादी र राष्ट्रविरोधीको तोक लगाएर कलेजबाट निकालिँदैछ। सिक्किमे जनता यो सरकारमा सरकार, प्रशासन र सत्तारूढ़ पार्टीद्वारा पोषित गुण्डाहरूबाट सुरक्षित छैनन्, कर्मचारीहरूलाई आफ्नो विचार पोख्न प्रतिबन्ध लगाइएको छ, राजनैतिक बद्लाको भावनाले कर्मचारी, एमआर-एडहक कर्मचारी र निजी कम्पनीहरूमा काम गर्ने कर्मचारीहरूलाई सताइँदैछ, भिक्टिमाइज ट्रान्सफर गरिँदैछ, नोकरीबाट निकालिँदैछ। सिक्किममा ड्रग्सको तस्करी अत्यधिक मात्रामा बढ़ेर गइरहेको छ।
यस्तो विकट समयमा हामीले 77औं स्वाधीनता दिवस पालन गरिरहेका छौं। हाम्रा पुर्खाहरूको बलिदान, साहस र ठूलो सङ्कल्प वा संघर्षले आर्जन गरेको स्वतन्त्रताको यो पर्व मनाउँदै गर्दा हामी पनि आफ्नो र भावी सन्ततिको जीवनलाई सम्झेर अन्याय र अत्याचारको विरोधमा खड़ा हुने सङ्कल्प गरौं। सिक्किमको पहिचान र सुरक्षाको निम्ति अनि सिक्किमको सुखद भविष्यको निम्ति जुटेर लड्ने वाचा गरौं।
हामी भय, त्रास र डरको पराधीनताबाट पनि मुक्त बन्ने सङ्कल्प यस अवसरमा गरौं।
यही आह्वानसहित स्वतन्त्रता दिवसको पुनः हार्दिक शुभकामना चढ़ाउँदछु।
जय हिन्द!
पवन चामलिङ
अध्यक्ष
सिक्किम डेमोक्रेटिक फ्रण्ट।”