प्रेस विज्ञप्ति
“जात, जात अनि जात नै एसकेएमको दालभात!”
सत्तारूढ़ एसकेएम पार्टीका नेतादेखि लिएर साधारण कार्यकर्ताहरूसम्मको गिदी सङ्कीर्ण जातवादी मानसिकताले भरिएको छ। एसकेएम नेता-कार्यकर्ताहरूको ठाउँ-ठहर, रहनी जातै मात्र हो। यसको ज्वलन्त नमूना हो मन्त्री एल.बी. दासको हालैको मन्तव्य। जोइण्ट एक्सन काउन्सिल (ज्याक) -का महासचिव केशव सापकोटामाथि सिङताममा कुटपीट गर्ने, उनको कपाल लुछ्ने कथित आरोपी राजु ठटाललाई एसकेएम सरकारले चालक कल्याण बोर्डका भाइस चेयरम्यान बनाएकोमा जुन आलोचना विपक्षी खेमाबाट भइरहेको छ, त्यसलाई दासले दलितविरोधी रूप दिनखोजेका छन्, जुन प्रजातन्त्रविरोधी र जनताको वाक् स्वतन्त्रताविरोधी कुरा हो।
केशव सापकोटामाथि प्राणघातक आक्रमण गर्ने, कपाल लुछ्ने कथित आरोपीलाई ड्राइभर वेलफेयर बोर्डका भाइस चेयरम्यान बनाएर एसकेएम सरकारले पुरस्कृत गरेकोमा विपक्षीहरूले आलोचना गरेका हुन्। यसमा दलितविरोधको कुरा कहाँबाट आयो? यसो भनेर मन्त्री दासले अपराधको जातीयकरण गर्नखोजेका छन्, अपराधका आरोपीलाई जातीय संरक्षण दिनखोजेका छन्।
यसरी नै, एक एसकेएम समर्थक सपना दर्जीले एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङविरुद्ध उनले एसकेएम सरकारमा अनुसूचित जाति समुदायबाट एकजनालाई विधानसभा अध्यक्ष बनाएकोमा विरोध जनाउँदै विधानसभै बाइकट् गरेको भन्ने जुन निहायत बकवास अनि अतिशय गम्भीर र आपत्तिजनक आरोप लगाएकी छन्, एसडीएफ पार्टी यस निन्दनीय आरोपको भर्त्सना जनाउँदछ। एसडीएफ अध्यक्ष श्री चामलिङले उक्त कथित भनाई कहाँ र कतिबेला भन्नुभएको वा लेख्नुभएको छ, त्यसको भोइस क्लिप अथवा लिखत् प्रमाण चाँड़ोभन्दा चाँड़ो प्रस्तुत गर्ने चुनौती दिनचाहन्छ। उक्त फेसबुक युजर सपना दर्जीले अविलम्ब उक्त आरोपलाई प्रमाणित गर्नुपर्नेछ, नत्रभने हामी न्यायको शरणमा जान बाध्य हुनेछौं।
यसरी नै, उक्त फेसबुक प्रयोगकर्ताले अध्यक्ष चामलिङद्वारा हालै एक किशोरी नृत्याङ्गनाबारे गरेको कथित टिप्पणी पनि `दलितविरोधी’ नै रहेको आरोप लगाएकी छन्। सर्वप्रथम त, यो एउटा न्यायालयमा विचाराधीन (सब् ज्युडिस) विषय भएको हुनाले यसमाथि टिप्पणी गरिहाल्न एसडीएफ पार्टी चाहँदैन। तर फेसबुक प्रयोगकर्ताले नै सब् ज्युडिस विषयमा कुरा गरेकाले यति भन्न एसडीएफ पार्टी विवश छ कि एसडीएफ अध्यक्षले उक्त नृत्याङ्गनाको विषयमा होइन, नृत्यको विषयमा कुरा गरेका थिए। व्यक्तिमाथि होइन, दृश्यमान वस्तुमाथि उनको मन्तव्य आधारित थियो। ती नृत्याङ्गना किशोरी अनुसूचित जाति परिवारबाट आएकी हुन् भनेर परिचय खुलाउने त यी फेसबुक प्रयोगकर्ता सपना दर्जी नै हुन्।
आफ्ना अपराध, असफलता र जनविरोधी क्रियाकलापहरूबाट जनताको ध्यान अन्यत्र मोड़्नचाहने तुच्छ विचारका वाहक एसकेएम पार्टी र सरकारलाई हामी पुनः जानकारी गराउनचाहन्छौं कि विपक्षी विधायक श्री चामलिङले विधानसभाको बहिष्कार जनताको सर्वोच्च प्रतिनिधि संस्था सिक्किम विधानसभाले जनप्रतिनिधि अनि समस्त विपक्षी जनताका आवाज बोक्ने पवन चामलिङको मान-सम्मान र मर्यादालाई रक्षा गर्न नसक्दा, विधानसभाजस्तो गरिमामय अनि न्यायप्रदाताको कुर्सीमा बसेर पनि विधानसभाभित्र पसेका गुण्डाहरूबाट सदनको मर्यादा रक्षा गर्न, उनीहरूलाई नियन्त्रित गर्न नसक्ने लाचार र निम्छरा अध्यक्षप्रति अनास्था दर्शाउँदै बहिष्कार गरेका हुन्। कुर्सीमा एल.बी. दास बसून् कि अरूण उप्रेती बसून् कि अरू कोही, प्रजातन्त्रविरोधी क्रियाकलापको एसडीएफले विरोध गर्नेछ, गरिरहनेछ। आफ्नो अपराधको विरोध गरियो कि जातलाई अघाड़ि सारिहाल्ने निम्नस्तरको विचार र व्यवहारको एसडीएफ पार्टी भर्त्सना जनाइरहनेछ।
अनुसूचित जाति समुदायप्रति एसडीएफ पार्टी र अध्यक्ष चामलिङको कस्तो विचार र व्यवहार छ भन्ने कुरा समस्त अनुसूचित जाति समुदाय अनि सिक्किमेली जनतालाई थाहा छ। अनुसूचित जातिलाई संविधानप्रदत्त जम्मै हकहरू प्रदान गर्ने अनि ती हकहरूको सुरक्षा गर्ने एसडीएफ पार्टी हो। एसकेएमले जस्तो पञ्चायत चुनाउमा अनुसूचित जातिको आरक्षणको हक काटेको छैन एसडीएफले। अनुसूचित जातिलाई सामाजिक भेदभाव र उत्पीड़नबाट बचाउन उत्पीड़न निवारण (एट्रोसिटी) कोर्ट बनाएर सुरक्षा गर्ने एसडीएफ सरकार हो। धर्मान्तरण गरेर अनुसूचित जाति आरक्षणबाट स्वतः वञ्चित बन्नपुगेकाहरूलाई पनि दुइ प्रतिशतको छुट्टै आरक्षण प्रदान गर्ने पनि एसडीएफ सरकार हो।
अनुसूचित जाति समुदायका लागि के गर्नुपर्छ, उनीहरूको सुरक्षा कसरी गर्नुपर्छ भन्ने कुरा आफ्नो हरेक असफलतामा जातको पछ्यौरीले मुख छोप्नेहरूले एसडीएफलाई सिकाउनुपर्दैन।
कृष्ण खरेल
उपाध्यक्ष, प्रचार-प्रसार मामिला
एसडीएफ।
31.07.2023