प्रेस विज्ञप्ति
"एसकेएम सरकारले सिक्किमलाई दिएको कालो धब्बा सिक्किमको इतिहासमा कहिल्यै मेटिने छैन’’ : डी बी थापा
एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियान अन्तर्गत निरन्तर सभाहरू भइरहेका छन्। यसै अभियानअन्तर्गत आज रिञ्चेनपोङ समष्टिको मङ्लबारे हाटघरमा वरिष्ठ उपाध्यक्ष श्री डी बी थापाको अध्यक्षता रिञ्चेनपोङ समष्टिस्तरीय सभा सम्पन्न भयो। स्थानीय जनताले सक्रियतापूर्वक सहभागिता जनाएको आजको सभामा पार्टीका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा पार्टीका विद्यार्थी नेता श्री कर्म छुल्टिम भोटियाले एसडीएफ सरकारकालमा विद्यार्थीहरूका निम्ति गरिएका कार्यहरूको स्मरण गराउँदै एसडीएफ पार्टीको विद्यार्थीमुखी भावी कार्यक्रमहरू प्रकाश पारे।
यसरी नै युवा नेता सुश्री दिव्य कला शर्माले श्री पी एस गोलेको नेतृत्वमा सरकार बनेदेखि राज्यमा अशान्ति, हिंसा र असुरक्षा बढेर गएको बताइन्। सिक्किम र जनताका सुरक्षा र विकासका निम्ति एसडीएफ पार्टीलाई साथ दिन सुश्री शर्माले जनतालाई आग्रह गरिन्।
सभामा मन्तव्य राख्ने क्रममा युवा नेता श्री रमेश किराँतले आफुलाई घरमै आएर मरणसन्न बनाएको पीडापूर्ण अवस्थाको अनुभुति जनतालाई साझा गर्दै एसकेएम सरकारको नीति र व्यवस्था जनविरोधी, युवाविरोधी रहेको दाबी गरे। श्री राईले एसकेएम पार्टीको धम्की र हिंसासित आफू नडगमाइ सिक्किमको निम्ति श्री पवन चामलिङको जनवादी विचारधारालाई शिरोपर गरी एसडीएफ पार्टीमा प्रतिबद्ध बनेको आवगत गराए। सिक्किमको सुरक्षा, शान्ति र समृद्धि श्री चामलिङको नेतृत्वमा मात्र सम्भव छ, श्री राईले भने।
युवा नेता श्री रविन तामाङले लिम्बू-तामाङको विधानसभामा सीट आरक्षण ढिलो हुनको कारणहरू प्रष्ट पार्दै मुख्यमन्त्री श्री पीएस गोले र एम पी श्री ईन्द्रहाङ सुब्बाका कारण आजसम्म सीट आरक्षण नभएको दाबी गरे। दस दिनभित्रमा सिट आरक्षणको वचन दिने एसकेएम सरकारमा तामाङ मुख्यमन्त्री र लिम्बू एम पी हुँदा पनि सीट आरक्षण नहुनु दुर्भाग्य हो, श्री तामाङले ठोकुवा गरे। यसैक्रममा उनले लिम्बू तामाङको सिट आरक्षण गर्नका निम्ति एसडीएफ पार्टीलाई साथ दिन जनतालाई अपील गरे। भ्रष्टाचारमा लिप्त एसकेएम सरकारलाई सत्ताबाट नझारेसम्म सिक्किममा कसैको विकास नहुने श्री तामाङले बताए।
मन्तव्य राख्ने क्रममा युवा नेता श्री अम्बर राईले वर्तमान सरकारले राज्यका पुराना कानुनहरू कसरी तरलीकरण भएका छन् अनि एसकेएम सरकारले कसरी सिक्किमको अस्तित्व धरासयी बनाएको छ विस्तारपूर्वक बताए। सिक्किमेली जनताको अस्तित्व बचाउन एसडीएफ पार्टीलाई सरकारमा फर्काउन खाँचो छ, श्री राईले भने। वर्तमान सरकारका नाइकेदेखि लिएर सबै नेताले जनतालाई ढाटेर अलमल्ल पारेका छन् भन्दै उनले एसकेएम सरकारले केही ठोस काम नगरेको दाबी गरे। उनले भने, हामी सिर्जना र रचनात्मक राजनीति गर्छौ।
आजको सभामा सम्बोधन राख्ने क्रममा एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री श्री छिरिङवाङ्दी लेप्चाले 25 वर्षीय एसडीएफ सरकारले के गर्यो र 4 वर्षमा एसकेएम सरकारले के गर्यो भन्ने विषयमाथि तुलनात्मक तर्क राख्दै सिक्किमिज भोटिया, लेप्चा र नेपालीको अस्तित्वलाई एसडीएफ पार्टी र नेता श्री पवन चामलिङले 25 वर्ष सुरक्षित राखेको ठोकुवा गरे। तर फाइनेन्स एक्ट र अरू केन्द्रीय काकुन भित्राएर चार वर्ष भित्रमा एसकेएम सरकार र श्री गोलेले सिक्किमिज आइडेन्टीलाई समाप्त पारे, ध्वस्त पारे, श्री लेप्चाले भने।
एसडीएफ सरकारको जनमुखी कार्यक्रम र नीतिले राज्यका गाउँगाउँका जनताले सुख-सुविदा र सहुलियत पाएका थिए तर एसकेएम सरकारमा जनताले दु:ख पाइरहेका छन्। स्वास्थ उपचारका निम्ति पार्टीद्वारा सञ्चालित प्रकोष्ठमा गुहार लगाउनु पर्ने अवस्थाप्रति श्री लेप्चाले कटाक्ष प्रहार गरे। श्री गोलेको भ्रष्टाचार र भताभुङ भएको व्यवस्थालाई जनताले हटाउन आवश्यक रहेको उनले बताए। एसडीएफ पार्टीका नेता ट्रस्टेड र टेस्टेड नेता हुन् उनको नेतृत्वले सिक्किम र जनताको भलो हुने उनले विश्वास दिलाए। 2024-मा एसडीएफ पार्टीले सरकार गठन गर्ने श्री लेप्चाले दाबी गरे।
अध्यक्षीय सम्बोधनमा पूर्व मन्त्री श्री डी बी थापाले भने, जनताले विगत चार वर्षदेखि हामीलाई दिएको विपक्षको भूमिका हामीले इमान्दारितासँग निर्वाह गरेका छौं, एसडीएफ पार्टी जनताको आवाज बनेको छ। एसकेएम सरकारमा सिक्किमको नोक्सान मात्र भएको बताउँदै श्री थापाले सिक्किम बचाउने मुख्य कार्य एसडीएफ पार्टीले लिएको जनाए। सिक्किमको अस्तित्व र आफ्नो हक-अधिकारका लागि जनतालाई सचेत बनाउने महान काममा एसडीएफ पार्टी जुटिरहेको श्री थापाले बताए।
श्री थापाले भने, जनताले आफ्नो मताधिकार प्रयोग गरी एसकेएम पार्टीलाई सत्तामा पुऱ्याए, तर एसकेएम सरकारले सिक्किमको नियम, कानुन, व्यवस्था सबै सबै भताभुङ्ग पारिदिएको छ। उनले अझ भने, सरकारले जनताको हितमा राम्रो काम गर्न सकेको छैन। आफ्ना बाचाहरू पूरा गर्न सकेन। यस सरकारको क्रियाकलाप सिक्किमको पक्षमा छैन, जनताको पक्षमा छैन। यसैकारणले जनताले एसकेएम सरकारलाई विश्वास गर्न छोडिसकेका छन्. श्री थापाले दाबी गर्दै भने।
एसकेएम सरकारले बेचेको सिक्किमेको अस्तित्व र मान-सम्मान फर्काएर ल्याउने आस्थाको केन्द्र केवल नेता श्री पवन चामलिङ र एसडीएफ पार्टी मात्र रहेको श्री थापाले जनतालाई आवगत गराए।
सिक्किममा चार वर्ष भित्रमा बेकारी समस्या अनियन्त्रित रुपमा बढेर गएको र टुरिजम क्षेत्रमा व्यापक क्षति पुगेको जनाउँदै एसकेएम सरकारको सबैभन्दा ठूलो विफलता यही हो, उनले भने।
मङ्ले बजारको एकभाग सुन्दरीकरण एसडीएफकालमा भएको जानकारी गराउँदै रहल अर्को भाग आजसम्म सुन्दरीकरण गर्न नसकेमा एसकेएम सरकारले जनताको काम गर्न नसकेको प्रमाणित भएको उनले स्पष्ट पारे । श्री थापाले एसडीएफ सरकारकालमा सबै सहुलियतको चेक आमाको नाममा दिइन्थ्यो भन्दै एसडीएफ आमा चेलीहरूको सम्मान गर्ने पार्टी हो भने।
श्री पी एस गोले र एसकेएम सरकारले सिक्किमिज आइडेन्टि र पुराना कानुन तरलीकरण गरेको, समाप्त पारेको कालो धब्बा सिक्किमको इतिहासमा कहिल्यै मेटिने छैन श्री थापाले भने।
युवाहरूलाई आह्वान गर्दै श्री थापाले भने, युवाहरूको भविष्य एसडीएफ पार्टीमा सुरक्षित छ। सिक्किमलाई बाहिरका शक्तिहरूबाट बचाउन एसडीएफ पार्टीमा एकबद्ध भएर अघि आउन उनले युवाहरूलाई आग्रह गरे।
सीएलईसी अध्यक्ष श्री आई बी थापाद्वारा सञ्चालित आजको सभामा श्री प्रकाश गुरुङले स्वागत भाषण राखेका थिए भने धन्यवाद ज्ञानपन श्रीमती मरिना सुब्बाले राखेकी थिइन्।
लाकु सदामु
सचिव, प्रचार-प्रसार मामिला (पश्चिम)
एसडीएफ।