प्रेस विज्ञप्ति
"एसकेएम पार्टीमा नारी जातिप्रति रत्तिभर उदारता छैन"
सिक्किम सरकारको स्वास्थ्य विभागमा अन्ततः लगभग छः महीनापछि स्वास्थ्य मन्त्री मनोनीत गरिएको छ। स्वास्थ्य विभागजस्तो मुख्य विभाग विगत छः महीनादेखि मन्त्रीरहित सञ्चालित थियो। यो सिक्किमको इतिहासमा पहिलो र नौलो घटना हो।
एसकेएम सरकारले आजसम्म पटक पटक आफ्नो मन्त्रीमण्डलमा फेरबदल गर्दै आइरहेको छ। यद्यपि, मन्त्रीमण्डल फेरबदल गरिँदा पनि एसकेएम सरकारले नारी विधायकहरूलाई मन्त्रीको पदमा समावेश गर्नसकेन। विधानसभामा तीन तीनजना महिला विधायक रहँदा रहँदै दुई दुई पल्टको मन्त्री मण्डलको पुनर्गठनमा पनि महिला विधायकलाई उपेक्षा गरेर महिलाहरूको सहभागिता र सामाजिक न्यायलाई कुठाराघात गर्दै अर्को इतिहास निर्माण गर्न सफल भएको छ। गान्तोक नगरनिगमाको मेयर पदमा आधा आधाको फर्मूला तयार गरेर महिला उम्मेद्वारलाई उपेक्षा गरेको ऐतिहासिक कार्य कसैले भुल्नसक्दैन। नारी जातिको हिमायती भनेर ठोकुवा गर्ने एसकेएम सरकारको ठोकुवा शतप्रतिशत प्रोपोगाण्डा मात्र हो भनेर यसले प्रमाणित गरेको छ भनी एसडीएफ पार्टी चेली मोर्चा ठहर गर्दछ।
राज्यको विधानसभामा अहिले तीनजना नारी विधायकहरू छन्। श्रीमती सुनिता गजमेर, जो एसकेएम पार्टीकै विधायक हुन् भने श्रीमती राजकुमारी थापा र श्रीमती फरवन्ती तामाङ भाजपा विधायक। जनमतद्वारा चुनिएर विधायक बनेका तीनजना नारी विधायकहरू कुनै पार्टीबाट सम्बन्धित भए पनि उहाँहरूले राज्यका समग्रह नारीहरूको प्रतिनिधि गरिरहेका छन्। त्यसर्थ एसकेएम सरकारले आफ्नो मन्त्रीमण्डल फेरबदल गर्दा कुनै एक नारी विधयाकलाई मन्त्री बनाएको भए समग्र सिक्किमेली नारी जातिलाई सम्मान दिएको बराबर हुनेथियो। तर एसकेएम पार्टीमा नारी जातिप्रति रत्तिभर उदारता छैन।
अझ त्योभन्दा पनि ऐतिहासिक कार्य भनेको एसकेएम सरकारका यस्ता सामाजिक न्यायविरोधी ऐतिहासिक कार्यको एसडीएफ पार्टी निन्दा गर्दछ साथै नारीहरूको सम्मान र हक अधिकारीको पक्षमा सधैं दृढतापूर्वक खड़ा रहने वचनबद्धता जाहेर गर्दछ। तथापि लामो समयसम्म मन्त्रीरहित स्वास्थ्य विभागमा नवनियुक्त मन्त्री श्री विष्णुप्रसाद खतिवड़ालाई हार्दिक बधाई तथा सफल कार्य सम्पादनको शुभकामना व्यक्त गर्दछ। यति छोटो समयमा लथालिङ्ग र भताभुङ्ग भएको मन्त्रीरहित स्वास्थ्य विभागलाई उहाँले सम्हलेर लैजाने कुरा पनि एउटा चुनौतीपूर्ण कार्य हो। उहाँलाई यो विभाग राम्रोसँग सम्हालेर लैजाने शक्ति ईश्वरले प्रदान गरून् भनी एसडीएफ पार्टी कामना गर्दछ।
जुडी राई
महासचिव, प्रचार-प्रसार मामिला
एसडीएफ।
04.08.2023