३२औँ नेपाली भाषा मान्यता दिवसको पावन अवसरमा भारतभरि छरिएर बसेका सम्पूर्ण नेपालीभाषी जनसमुदायमा हार्दिक बधाईसहित शुभकामना जनाउदछु।
२० अगस्त, १९९२-भारतको संसदले नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न ७१औँ संविधान संशीधन विधेयक, १९९२ लाई ध्वनिमतले लोकसभा अनि राज्यसभामा पारित गरेको दिन हो। यस ऐतिहासिक निर्णयसितै सम्पूर्ण भारतवासी नेपालीभाषीको शिर उच्च भएको छ। संसदको यस ऐतिहासिक निर्णयलाई भारतका राष्ट्रपतिले ३१ अगस्तको दिन अनुमोदन गरेका थिए।
नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गरिनुपर्छ भनेर सर्वप्रथम आवाज उठाउने हाम्रा युगद्रष्टा आनन्दसिंह थापा, वीरसिंह भण्डारी अनि नरेन्द्र सिंहले देखाएको मार्ग हामीले भुल्नु हुँदैन। सन् १९५६ मा देहरादूनबाट प्रकाशित ‘जाग्रत गोर्खा’ पत्रिकाका सम्पादक यी तीन भाषासेवीले नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नुपर्छ भन्दै भारतका राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई पत्राचार गरेका थिए। त्यसपछि नेपाली भाषा आन्दोलनले देशभरि व्यापकता लिएर सन् १९९२ मा सिक्किमको नेतृत्वमा सफलता पाएको इतिहास हामीले भुल्नुहुँदैन। भाषा मान्यता आन्दोलनलाई सही नेतृत्व दिएर सफलता प्राप्त गराउन तत्कालीन मुख्यमन्त्री श्री नरबहादुर भण्डारी, सांसद श्रीमती दिलकुमारी भण्डारी तथा दार्जीलिङका वाम एवं गैर वामपन्थी सबै नेताहरूले पुऱ्याउनुभएको योगदान नेपाली भाषाको इतिहासमा सदाका लागि लेखिएको छ। म यस अवसरमा सम्पूर्ण नेपाली भाषी सङ्ग्रामीहरूप्रति कृतज्ञता प्रकट गर्दै नमन गर्दछु।
आज नेपाली भाषाले मान्यता प्राप्त गरेको तीन दशक पूरा भइसकेको छ। यस भाषाको विकास र समृद्धिका लागि हामीले ठोस पहल गर्न बाँकी नै छ। भारतका अन्य विकसित भाषाको तुलनामा हामीले अझ धेरै कार्य गर्न बाँकी नै छ। अतः नेपाली भाषा-साहित्यसित सम्बन्धित विद्वानजनलाई मेरो आग्रह यही छ, हाम्रो नेपाली भाषालाई पनि प्रविधि मैत्री, रोजगारमुखी अनि समृद्ध बनाउने दिशामा पहल गरौं।
अन्त्यमा फेरि एकपल्ट सम्पूर्ण भाषा सङ्ग्रामीहरूलाई शत शत नमनसहित भाषा मान्यता दिवसको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु।
पवन चामलिङ
अध्यक्ष
सिक्किम डेमोक्रेटिक फ्रण्ट